बारा देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई उनको गाडी चालकले क्वाटरमा थुनेका छन् ।
गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत पालवीच बिगत केही दिनदेखि मनमोटाव हुँदै आएको थियो ।
त्यसकै फलस्वरुप चालक महेन्द्र सहनीलाई क्वाटरमा सुत्न नदिएको निहुँमा मंगलवाल चालक रिसाएर क्वाटरमा ताल्चा लगाएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित रहेको क्वाटरभित्र सपरिवार बस्दै आउनुभएका उहाँलाई मङ्गलवार बिहान ८ बजे ढोका खोल्दा बाहिरबाट ताला लगाइएको थियो ।
उक्त ताला लगाएको बारे छिमेकीलाई जानकारी गराउँदा क्वाटरको मूल ढोका र भित्री फ्ल्याटमा समेत अलगअलग दुई वटा ताल्चा लगाइएको प्रमुख प्रशासकीय अधिकृत पालले जानकारी दिएका छन ।
यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराई आफू नजिक रहेका कर्मचारीसँग सोधपुछ गर्दा आफूले चढ्ने गाडीको चालक महेन्द्र सहनीले ढोकामा ताल्चा लगाएको स्वीकार गरेको अधिकृत पालले बताए ।
प्रमुख प्रशासकीय अधिकृत बसेको क्वाटरनिर प्रहरी जाँदैछ भन्ने खबर सुन्नसाथ चालकले आफै गएर ताल्चा खोलेको प्रमुख जिल्ला अधिकारी सापकोटाले जनाए ।
प्रहरीले केही क्षण चालकलाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा थुनेको थियो । पछि दबैलाई यस्तो क्रियाकलाप नदोहराउँने सर्तमा सहमतिमा कागज गराई छोडिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए ।