राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्दै ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश

गढिमाइ खबर
132 पाठक संख्या

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेस प्रदेश संस्थापक सभापति ममता शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्। बुधबार विज्ञप्ति जारी गर्दै उनले पार्टी परित्यागको घोषणा गरेकी हुन्।

‎शर्मा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीबाट आकांक्षी थिइन्। रास्वपाले समानुपातिकतर्फ ‘प्राइमरी इलेक्सन’ प्रणालीमार्फत उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको थियो। उक्त प्राइमरीमा उनले मधेसी महिला क्लस्टरअन्तर्गत तेस्रो बढी मत प्राप्त गरेकी थिइन्। तर अन्तिम सूची सार्वजनिक हुँदा उनको नाम सोही क्लस्टरको सातौं नम्बरमा राखिएको थियो।

‎यस विषयमा असन्तुष्टि जनाउँदै शर्माले प्राइमरी प्रणाली कार्यान्वयनमा पारदर्शिता नदेखिएको आरोप लगाएकी छन्। उनले आकांक्षीहरूबाट प्राइमरी गर्ने नाममा रकम उठाइएको तर व्यवहारमा भने त्यसको मर्मअनुसार निर्णय नभएको दाबी गरेकी छन्।

‎रास्वपाले बालेन शाहलाई पार्टीमा भित्र्याउनुअघि नै समानुपातिक सूची तयार पारेको बताइएको छ। तर बालेन पार्टीमा आएपछि सूचीमा तलमाथि गरिएको शर्माको आरोप छ। प्राइमरीमा तेस्रो मत ल्याए पनि अन्तिम सूचीमा सातौं नम्बरमा राखिएपछि उनले उम्मेदवारी फिर्ता लिन निवेदन दिएकी थिइन्।

‎समानुपातिकतर्फ आफूलाई ‘धोका’ भएको महसुस गरेपछि शर्माले प्रत्यक्षतर्फ पनि उम्मेदवारी दिने इच्छा व्यक्त गरेकी थिइन्। तर पार्टीभित्र आफूले अपेक्षित न्याय नपाएको निष्कर्षसहित उनले अन्ततः रास्वपा परित्याग गरेकी हुन्।

‎यसैबीच, शर्मा जनकपुरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। उनको पार्टी प्रवेशसँगै मधेस प्रदेशको राजनीतिक समीकरणमा नयाँ चर्चा सुरु भएको छ।

‎शर्माको राजीनामापछि मधेस प्रदेशमा रास्वपाको संगठनात्मक अवस्थाबारे प्रश्न उठ्न थालेको छ। पार्टी नेतृत्वले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।

साझा गर्नुहोस्