बारा । विगत तीन वर्ष देखि रामराजा (मोहन विक्रम शाह) बहुमुखी क्याम्पसको अनुदानको रकम नदिएका कलैया उपमहानगपालिकाको मेयर विनोद प्रसाद साहले क्याम्पसको विकासको लागि आफू कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
रामराजा बहुमुखी क्याम्पसको ४४औँ वार्षिक उत्सव तथा अभिभावक भेलालाई मंगलबार सम्बोधन गर्दै उहाँले विगत तीन वर्ष देखि क्याम्पसको अनुदान रकम उपलब्ध गराउन नसकेको स्वीकार्नु भयो ।
कुनै पनि संस्थाको विकासको लागि अर्थ अपरिहार्य हुन्छ तर आर्थिक रुपमा क्याम्पसलाई कमजोर गरी उहाँले शैक्षिक संस्थाको गुणस्तर केवल भौतिक संरचनाबाट मात्र होइन, आन्तरिक अनुशासन, नेतृत्वबीचको समन्वय र सरोकारवाला निकायहरूको जिम्मेवारीबाट निर्धारण हुने जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले क्याम्पस र कलैया उपमहानगरपालिका बीच विगत केही समयदेखि अन्तरविरोध देखिँदै आएको स्वीकार गर्नुभयो । यद्यपि, संवाद र सहकार्यको माध्यमबाट यसलाई समाधान गर्न सकिने उहाँको भनाइ रहेको थियो । “शैक्षिक संस्थाको उन्नति स्थानीय सरकार र क्याम्पस प्रशासन बीचको सहकार्य बिना सम्भव छैन,” उहाँले बताउनुभयो ।
नगर प्रमुख साहले उपमहानगरपालिकाले रामराजा बहुमुखी क्याम्पसलाई उपलब्ध गराउने तीन वर्षको अनुदान हालसम्म बाँकी रहेको जानकारी गराउँदै यस विषयमा स्पष्टता र समाधान आवश्यक रहेको बताए ।
उक्त अनुदानले क्याम्पसको शैक्षिक सुधार, पूर्वाधार विकास र विद्यार्थी हितका कार्यक्रमलाई सघाउने अपेक्षा गरिएको जानकारी गराउनुभयो ।
उक्त कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख निमेश तिमल्सिनाले आगामी आर्थिक वर्ष चुनौतीपुर्ण रहेको बताउनुभयो । उहाँले विभिन्न महत्वकांक्षी योजना क्याम्पसले संचालन गर्ने योजना बनाएको बताउनुभयो ।
क्याम्पसमा तीन वटा नयाँ संकाय थप्न लागिएको भन्ँदै स्थानीय सरकारको सहयोग नभए गुणस्तरीय शिक्षा संचालन गर्न बाधा पुग्ने उहाँको भनाई रहेको थियो । सहयोग नपाएको अवस्थामा क्याम्पस प्रशासनले शुल्क परिमार्जन गर्नु पर्ने अवस्था आउने उहाँले जानकारी दिनुभयो ।
चार दशकभन्दा बढी समयदेखि यस क्षेत्रको उच्च शिक्षामा योगदान दिँदै आएको रामराजा बहुमुखी क्याम्पस अहिले गुणस्तर सुधार, व्यवस्थापन सुदृढीकरण र स्रोत व्यवस्थापनका चुनौतीसँग जुधिरहेको छ। ४४औँ वार्षिक उत्सवले क्याम्पसको विगत यात्रा सम्झनुका साथै भावी दिशाबारे गम्भीर छलफलको अवसर प्रदान गरेको सहभागीहरूको भनाइ रहेको थियो ।
कार्यक्रममा क्याम्पस प्रशासन, प्राध्यापक, विद्यार्थी, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उत्सवको अवसरमा विभिन्न सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू समेत सञ्चालन गरिएको थियो ।









