कलैया : बाराको विश्रामपुर गाउँपालिकाको कार्यालयमा लुटिएको सामान फिर्ता गरिएको छ। यहाँबाट जेनजी आन्दोलनका क्रममा लुटिएका केही सामान स्थानीयले फिर्ता गरेका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केशरीले केहि सामान फिर्ता आएको बताए। फिर्ता आएको सामानमा कम्प्युटर,किबोर्ड सिपियु फिर्ता आएको उनले जानकारी दिए।
फिर्ता गर्ने व्यक्तिहरूको नाम गोप्य राखिने उनले स्पष्ट गरे। अझै हराएका अन्य सामानहरू पनि फिर्ता गर्न गाउँपालिकाले सबैसँग आग्रह गरेको छ। यसअघि आन्दोलनको क्रममा गाउँपालिका भवनका विभिन्न कोठामा तोडफोड तथा आगजनी गरिएको थियो।
गाउँपालिकाले स्थानीयलाई सहयोगका लागि धन्यवाद दिएको छ। सार्वजनिक सम्पत्ति सुरक्षित राख्न सबैलाई एकजुट भएर अघि बढ्न गाउँपालिकाले आग्रह गरेको छ।









