कलैया उपमहानगरको वृक्षारोपणमा करोडौंको अनियमितता

गढिमाइ खबर
149 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : कलैया उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेको वृक्षारोपण योजनामा करोडौंको अनियमितता भएको महालेखा परीक्षण प्रतिवेदनले देखाएको छ। करिब १ करोड ३५ लाख ९८ हजार ५ सय ७४ रुपैयाँ लागत अनुमान गरिएको योजनामा निःशुल्क पाउने बिरुवासमेत मूल्यमा राखिएको, आधारविहीन दररेट प्रयोग गरिएको, आवश्यक स्वीकृति नलिइएको र नियमविपरीत ठेक्का सम्झौता गरिएको प्रतिवेदनमा उल्लेख छ।

वन कार्यालयबाट निःशुल्क उपलब्ध हुने २,९४३ वटा बिरुवा प्रतिविरुवा ४७८ रुपैयाँ देखाई १४ लाख ७ हजार ३ सय ९० रुपैयाँ खर्च देखाइएको महालेखाले जनाएको छ। त्यस्तै टि–गार्डको वास्तविक तौलभन्दा कम देखाएर ७० लाख ८३ हजार ४ सय १० रुपैयाँको लागत अनुमान गरिएको प्रतिवेदनमा प्रष्ट पारिएको छ।

बिरुवा ढुवानी, रोपण र दुई वर्षसम्मको रेखदेखका लागि छुट्टै खर्च छुट्याइए पनि स्थलगत परीक्षणमा धेरै बिरुवामा पानी नहालिएको र संरक्षण नभएको देखिएको प्रतिवेदनमा भनिएको छ। त्यस्तै, कानुनी अनुमति नभएको रौतहटको सुनील फलफुल नर्सरीसँग १ करोड १ लाख ३० हजार ५४ रुपैया ५० पैसाको ठेक्का सम्झौता गरिएको पाइएको छ।

सार्वजनिक खरिद नियमावलीअनुसार प्रशासकीय प्रमुखबाट स्वीकृति लिनुपर्ने लागत अनुमान प्राविधिक प्रमुखमार्फत मात्रै अघि बढाइएकाले सम्पूर्ण प्रक्रिया नै नियमविपरीत भएको प्रतिवेदनले निष्कर्ष निकालेको छ।

साझा गर्नुहोस्