कलैया : बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुर स्कुल स्थित सडक खण्ड बाट आईतबार विहान अबैध लागु औषध गाँजा सहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत सितामढी जिल्ला डुमरा बस्ने २९ वर्षीय सावन शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनको साथबाट पाँच किलो अवैध लागु औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी मुसहर्वाका वरिष्ठ प्रहरी नायब निरीक्षक जीवन खडकाको कमाण्डमा खटिृएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको अवस्थामा उनलाई अवैध लागु औषध गाँजा सहित पक्राउ गरेको हो।
पिठ्युमा बोक्ने कालो झोला टाउकोमा बोकी लुकीछिपी गईरहेको अवस्थामा शंका लागि जाँच गर्ने क्रममा झोला भित्र लुकाई छिपाई राखिएको उक्त परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद भएको गाँजा सहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।









