कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १५ मा स्थापना भइरहेको शिवम् सुगर एण्ड केमिकल मिलको फोहोर पानीले ईमृति नदी प्रदुषित हुने भन्दै बिहीबार ज्ञापन दिइएको छ।
कलैया उपमहानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष अशोक कुमार तिवारीको नेतृत्वमा गएको टोलिले सम्भावित फोहोर पानीको व्यवस्थापन गर्नुपर्ने भन्दै ज्ञापनपत्र दिएको हो। टोलिले बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो।
ज्ञापनपत्रमा बारा साविक गा वि स दोहरी हाल कलैया उपमहानगरपालिका वडा नं १५ टोल बकुलहरमा शिवम सुगर एण्ड केमिकल प्रा.लि. स्थापना भइरहेको जनाउँदै उक्त कारखानावाट कलैया उपमहानगरपालिकाको ६ वटा वडामा समस्या हुने जनाइएको छ।
कलकारखानाबाट निस्केको फोहर पानीको उचित व्यवस्थापन हुनुपर्ने भन्दै वाटर ट्रिटमेण्ट, पोलुटेड वाटर डिस्चार्ज स्टोरेज र पानी निकाशा नक्सा पास नगराई कारखाना बनिरहेको ज्ञापनपत्रमा जनाइएको छ। त्यो फोहर पानी नदीमा मिसाउन नमिल्ने ज्ञापनपत्रमा लेखिएको छ। नदीमा सफा पानीमात्र जानदिने हो भनिएको छ। भोलीको दिन मिल सञ्चालनमा आएपछि फोहर पानी निस्कने छ। त्यो पानी नदीमा मिसाइयो भने पुरै वरिपरिको वातावरणलाई दुषित पार्नेछ ज्ञापनपत्रमा भनिएको छ।
नदीको सब भन्दा बढी उपयोग खेती सिंचाइको लागि हुने गरेको छ। पानी दुषित भए खेती नष्ट हुनेछ। गरिब किसानको आयश्रोत बन्द हुन जाने कुरा ज्ञापनपत्रमा लेखिएको छ। जसले गर्दा किसान आत्महत्या गर्न बाध्यहुने हुदा यसलाई गम्भीरतापूर्वक लिन माग गरिएको छ। यस्को जवाफदेही कस्ले लिने ज्ञापनपत्रमा प्रश्न गरिएको छ। नदीको पानी सिंचाइको लागि मात्र होइन दैनिक जीवन यापन गर्ने श्रोत समेत हो स्पष्ट पारिएको छ।
यो नदीको वरिपरि बस्ने मानिस, चौपाया, जीव जन्तुले आफनो जीवन यापनको लागि नदीको पानीको उपयोग गरिरहेको र मिलको वरिपरि ऐलानी जग्गामा दलित समाज र गरिब कामदारहरु बसोबास गर्दै आएको जनाइएको छ। उनीहरुको जीवनमा मिलवाट निस्कने फोहर, फोहोर पानी, ध्वनी र धुवाँले गर्दा उनीहरुको जीवनमाथि धेरै ठुलो क्षति हुन जाने जनाइएको छ।
कारखानको छेउबाट बग्ने इमिर्ति खोला वडा नं २७,२६,९,१५,१४,११ संग जोडिएको छ। पानीको बहावसंग सम्पूर्ण मानव बस्ती, चौपाया र जीव जन्तुको जीवनसंग जोडिएको छ। धार्मिक हिसाबले छठ पूजा समेत गाउबासीहरुले उपयोग गरिरहेको ज्ञापनपत्रमा जनाइएको छ। उक्त खोलामा पर्यटकीय हिसाबले विभिन्न पिकनिक स्थलहरु रहेको जनाइएको छ।
कारखानाबाट निस्कने दुषित पानी उक्त नदीमा मिसाएमा मानिस रोगले ग्रसित भइ माहामारी फैलिने सम्भावना भएको भन्दै ज्ञापनपत्र मार्फत प्रशासन तथा सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराइएको छ।
कारखानाले अहिलेसम्म नक्सा पास नगराई तथा वातावरण आईइ नगराई निर्माण कार्य गर्न थालिएकोमा यो नेपाल कानुन विपरित कार्य गरेको जनाइएको छ। नेपालको कानुन अनुसार ५वर्ष पुरानो मेसिनरी ल्याउन र लगाउन नमिल्ने भएपनि उक्त मिलले ५ वर्ष भन्दा बढी पुरानो मेसिनरी ल्याइ जडान गरि रहेको ज्ञापनपत्रमा जानकारी दिइएको छ। खोलावाट ६ वडाको दुर्गा पूजा तथा यज्ञहरुमा जल यात्रा गर्ने गरिएको जनाइएको छ।
ज्ञापनपत्रको बोधार्थ कलैया उपमहानगरपालिका कार्यालय कलैयालाई दिइएको छ। उद्योग वाणिज्य संघ कलैया,वन तथा वातावरण मन्त्रालय सिंह दरबार र वन तथा वातावरण मन्त्रालय मधेश, प्रदेश जनकपुरधाम धनुषामा पठाइएको छ।
उक्त अवसरमा राष्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख सरोज निरौलाको उपस्थिति थियोे।









