कलैया : भोजपुरीमा भनाई छ,” जहाँ गाछ वृक्ष ना ओतहा लेडी प्रधान” यो असार महिना हो। असारे विकास नेपालको पुरानो रोग हो। जसरी भएपनि बजेट पचाउने योजनाको निहितार्थ हो। यही सन्दर्भमा बाराको सिम्रौनगढ नगरपालिका–७ को खजानी टोलदेखि ब्रहम् बाबा मन्दिरसम्मको सडक ढलानमा गुणस्तरहीन सामग्रीको प्रयोग खुल्लमखुल्ला गरिएको छ। ४५ लाख रुपैयाँ लागतमा निर्माणधीन उक्त सडकमा कवाडबाट संकलन गरिएको जस्ताको रड प्रयोग गरिएको पाइएको छ।
यस योजनाको जिम्मा उपभोक्ता समितिसँग रहेको छ। सब-इञ्जिनियर प्रभात सिंहको मातहतका योजनाहरूमा पटक–पटक गम्भीर लापरवाही देखिएको जनगुनासो रहेको छ। योजनाको स्थलगत अनुगमनमा खटिएका स्थानीय पत्रकारहरूले रड नै कवाडस्तरको रहेको पाएको हो।
बिम राख्दा आवश्यक मापदण्ड नपु-याएको पाइएको छ। सडक ढलानकै काम सुरु हुनुअघि सब-इञ्जिनियर प्रभात सिंहले ‘काम रोक्न निर्देशन दिएको’ बताउँछन्। तर यथार्थमा कुनैपनि प्राविधिक संलग्नता बिना ढलानको काम अघि बढेको हो। पूर्वाधार विकास कार्यालय बाराकी निमित कार्यालय प्रमुख रिम्पु कुमारी यादव भने सिंहका हरेक योजनामा गुणस्तरहीन काम भइरहँदा पनि “टुलुटुलु हेरेर बस्ने“ भूमिकामा रहेकी देखिएकी छन्।
सब-इञ्जिनियर प्रभात सिंह योजनास्थलमा नआईकनै आफूलाई डन ठान्दै कार्यालयमा ब्रचस्व जमाएर बसेका छन्। सिंहले हाकिम यादवलाई आर्थिक प्रलोभनमा पारी योजनाहरू मनपरी ढंगले सञ्चालन गरिरहेको आरोप लागेको छ।
उपभोक्ता समितिका एक सदस्यले नाम नखुलाउने शर्तमा प्रदेशदेखि जिल्ला कार्यालयसम्म कमिसन बुझाउनुपर्ने बाध्यता छ। गुणस्तरीय काम गरे एक रुपैयाँ पनि बच्दैन,त्यसैले कमसल सामग्री हाल्न विवश छौं भनेर भनेका छन्। अनुदानलाई व्यर्थ गर्ने,अनि त्यसैको ढोकोमा ‘प्रगति प्रतिवेदन’ बुझाएर भुक्तानी थाप्ने यस्ता योजनाहरू मधेश प्रदेशमै बदनाम बन्दै गएका छन्।
सब-इञ्जिनियर प्रभात सिंहका अनुसार उनको कुनै योजनामा गुणस्तरहीन काम भएको छैन। स्थलगत अवलोकनमा ठीक विपरीत दृश्य देखिएको छ। बिममा राखिएको रड न त नयाँ थियो, न त मापदण्ड अनुसार भएको पाईएको छ। काम धमाधम रुपमा भईरहेको छ। त्यसैगरी सडकको मोटाई,ढल निकास लगायतका पक्षमा समेत कुनै प्राविधिक मापदण्ड पालना भएको पाइदैन।
यता पूर्वाधार विकास कार्यालय बाराकी निमित कार्यालय प्रमुख रिम्पु कुमारी यादवसँग प्रतिक्रिया लिन खोज्दा उनले ’घाँटी दुखेको’ कारण देखाउँदै जवाफ दिन मानिनन्।
सिम्रौनगढको यो योजना एउटा उदाहरण मात्र हो। मधेश प्रदेशका सयौं योजनाहरूमा यस्तै नियोजित लापरवाही भईरहेको पाईएको छ । सब- इञ्जिनियर प्रभात सिंहले पूर्वाधार बिकास कार्यालयमा आफ्नो साम्राज्य जमाएर बसेका छन्। सम्बन्धित निकाय मुकदर्शक भएर बसेको छ।









