रौतहट : रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको राङ्गीमा विधुतीय ट्रान्सफर्मर चोरी भएपछि स्थानीयहरु स्वच्छ खानेपानीबाट बञ्चित भएका छन्।
फतुवा विजयपुर नगरपालिका–११ राङ्गी गाउँ स्थित ५० केभीको ट्रान्सफर्मरभित्रका पार्टपुर्जा चोरी भएसंगै सयौं परिवार खानेपानीबाट बञ्चित भएका हुन ।
पानी भण्डारण गर्दा विद्युत प्रयोग गर्ने गरिएको थियो। अज्ञात समूहले ट्रान्सफर्मरको बाहिरी फलामे भाग फालेर ट्रान्सफर्मरभित्रको तामा र बिजुलीको तार चोरी गरेको हो।
गाउँमा खानेपानी आपूर्ति पूर्णरूपमा ठप्प भएको छ। करिव एक सय भन्दा बढी परिवारलाई गर्मीको मौसममा खानेपानीकोे सास्ती झेल्नु परेको स्थानीय हरी कोइरालाले बताए।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादव नेतृत्वको टोलीले अनुसन्धान गरी रहेका छन्। सोही खानेपानी आयोजनाको विधुतीय ट्रान्सफर्मर केही वर्ष अघि चोरी भएको थियो।