कलैया : मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ मा निर्माण भईरहेको गंगानगर–बमनहरदेखि नयकाटोला जाने नहर ढलान कार्यमा चरम लापरवाही भएको पाइएको छ।
कागजमा उपभोक्ता समिति बनाएर काम गराईरहेका स्थानीय राजकिशोर कुशवाहा र पूर्वाधार विकास कार्यालय बाराका इन्जिनियर राजेश साहको आर्थिक साँठगाँठमा सो निर्माण भइरहेको हो। निर्माण कार्य लागत ईष्टिमेट भन्दा बाहिर भइरहेको छ।
साईट इन्जिनियरको रुपमा खटिएका इन्जिनियर साहले राजकिशोर कुशवाहासंग मिलोमत्तो गरी ग्रेभलको मात्रा घटाएर ढलान गराइरहेको पाईएको छ। स्थानीय महराज यादवका अनुसार राजकिशोर कुशवाहाले गुणस्तरहीन काम गर्दा पनि साईट इन्जिनियर रोक्न नजानुले पनि आर्थिक साँठगाँठ भएको प्रष्ट भएको बताए।
स्थानीयको भनाई अनुसार इन्जिनियर साहले पनि आफ्नो गल्ती स्वीकार गरेका छन् । पूर्वाधार कार्यालय,बाराको आफ्नै कार्यकक्षमा बोल्दै इन्जिनियर साहले योजना सुरु भएकै दिन ढलान प्रक्रिया नियमन बिना गरिएको र ग्राभेल सार्नुपर्ने स्थानमा पनि चित्तबुझ्दो काम नभएको आइतबार बताएका छन्।
“ढलान सुरु भएकोदिन मलाई थाहा भयो २ फिट सडक बायाँबाट दायाँ सार्नुपर्ने,तर ग्राभेल सारिएको थिएन पटक पटक भन्दापनि कान नसुनेझै ठेकेदारले काम गराईरहेको उनले बताए।
सो कार्यमा सिमेन्टको रेसियो बिगारिएको तथा निर्माण मापदण्डअनुसार नपुगेको साइट इञ्जिनियर साहले स्वीकार गरेका छन्।
पूर्व मुख्यमन्त्री सरोज यादवकै सिफारिसमा सञ्चालनमा आएको उक्त योजना ४५ लाखको लागतमा कागजी उपभोक्ता समिति बनाएर ठेकेदार राजकिशोर कुशवाहाले ढलान गराइरहेका छन् ।