चकलेटको प्रलोभनमा पारेर ३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीपछि हत्या गरेको आरोप, १६ वर्षीय सहचालक पक्राउ

गढिमाइ खबर
143 पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको शव फेला परेको घटनामा प्रहरीले जबर्जस्ती करणी गरी हत्या गरेको आरोपमा १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

‎प्रहरीका अनुसार २०८३ भदौ २ गते साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र नामथर नखुलेकी करिब ३/४ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन्।

‎घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा थप अनुसन्धान टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।

‎नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी अनुसन्धान अघि बढाउँदा मृतक बालिका जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरी बस्ने मनमती चौधरीकी ३ वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गरिमा २०८३ साउन ३१ गते बिहान करिब ८ः३० बजेदेखि घरबाट हराएकी थिइन्। अनुसन्धानका क्रममा जितपुरसिमरा–२ बस्ने भीमसेन थापाका १६ वर्षीय छोरा सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाई फकाएर घटनास्थलमा लगेको र जबर्जस्ती करणीपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

घटनामा संलग्न रहेको आरोपमा सुमन थापासहित ना.१ ज ७७५८ नम्बरको म्याजिकका धनी जितपुरसिमरा–१ बस्ने २४ वर्षीय प्रोग्रेस चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनाको विस्तृत कारण, संलग्नता तथा अन्य पक्षबारे अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्