पचरौताको हाकिम फेरिए, अब बेरुजु र आर्थिक बेथितिको हिसाब खोजिने?

गढिमाइ खबर
74 पाठक संख्या

कलैया । ‎महालेखा परीक्षकको प्रतिवेदनले पचरौता नगरपालिकाको आर्थिक तथा प्रशासनिक व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाइरहेका बेला नगरपालिकाको प्रशासनिक नेतृत्व फेरिएको छ। लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका वसन्त राज जोशीको स्थानमा गृह मन्त्रालयमा कार्यरत उपसचिव प्रदर्शनी कुमारीलाई पचरौता नगरपालिकामा कामकाज गर्ने जिम्मेवारी दिइएको छ।

‎संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको सरुवा निर्णयअनुसार उपसचिव प्रदर्शनी कुमारी पचरौता आउने भएकी हुन्। मन्त्रालयले एकैपटक २२ उपसचिव र २३ शाखा अधिकृत गरी ४५ कर्मचारीको सरुवा गरेको जनाएको छ।

‎तर पचरौताको प्रशासनिक नेतृत्व परिवर्तनलाई सामान्य कर्मचारी सरुवाका रूपमा मात्र हेर्न नमिल्ने अवस्था छ। आर्थिक वर्ष २०८१/८२ को महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याइएका बेरुजु, खर्च व्यवस्थापन, सार्वजनिक रकमको उपयोग, आर्थिक अनुशासन तथा प्रशासनिक निर्णय प्रक्रियासँग जोडिएका प्रश्नको चाङबीच नयाँ प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हाल्नुपर्ने भएको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट शिक्षा शाखातर्फ जोशी

‎जोशीले २०८१ चैत २३ गतेदेखि पचरौता नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए। अब उनको स्थानमा उपसचिव प्रदर्शनी कुमारी आउने भएपछि जोशीलाई पुनः शिक्षा शाखाको जिम्मेवारीतर्फ फर्काउने तयारी भएको छ।

‎नगरपालिकाको प्रशासनिक नेतृत्व परिवर्तनसँगै जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट हटाएर आफ्नो मूल शाखातर्फ फर्काउने निर्णयलाई स्थानीय नागरिकले सकारात्मक रूपमा लिएका छन्। लामो समयदेखि एउटै व्यक्तिले फरक–फरक प्रशासनिक जिम्मेवारी सम्हाल्दै आएको अवस्थाको अन्त्य हुनुपर्ने स्थानीयको माग रहँदै आएको थियो।

‎शिक्षा शाखाको जिम्मेवारीमा पनि प्रश्न

‎पचरौता नगरपालिकामा प्रशासनिक जिम्मेवारीसँगै शिक्षा शाखाको सञ्चालनलाई लिएर पनि यसअघि प्रश्न उठ्दै आएका थिए। श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बेनौलीका लेखापाल मुकेश कुमार सिंहलाई शिक्षा शाखासँग सम्बन्धित जिम्मेवारी दिइएको विषयमा समेत विवाद र प्रश्न उठेको थियो।

‎स्थानीय तहमा शिक्षा प्रशासन सञ्चालन गर्नुपर्ने शाखामा सम्बन्धित जिम्मेवारी, पद र अधिकारको प्रयोग कसरी भइरहेको थियो भन्ने विषयमा समेत प्रश्न उठ्दै आएको अवस्थामा अब नयाँ प्रमुख प्रशासकीय अधिकृतले यस विषयलाई समेत छानबिन र व्यवस्थापनको दायरामा ल्याउनुपर्ने देखिएको छ।

‎जोशी निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहँदा शिक्षा शाखाको जिम्मेवारीसमेत विवादमा परेको र लेखापाल सिंहले शिक्षा शाखा प्रमुखको काम गर्दै आएको विषयमा स्थानीयस्तरमा आलोचना हुँदै आएको थियो। अब नयाँ प्रशासनिक नेतृत्व आएपछि कुन कर्मचारीलाई कुन कानुनी आधारमा कुन जिम्मेवारी दिइएको थियो भन्ने विषय स्पष्ट हुनुपर्ने माग उठेको छ।

महालेखाको प्रश्नको जवाफ नयाँ हाकिमले खोज्लान्?

‎पचरौता नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनमा विभिन्न आर्थिक तथा प्रशासनिक विषयमा प्रश्न उठाइएको छ। सार्वजनिक स्रोतको उपयोग, इन्धन खर्च, खर्चको औचित्य, अभिलेख व्यवस्थापन तथा बेरुजुसँग सम्बन्धित विषयले नगरपालिकाको आर्थिक प्रशासनमाथि प्रश्न खडा गरेको छ।

‎विशेषगरी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा इन्धनमा मात्रै रु. ८१ लाख ३६ हजार ५४० खर्च गरेको विषयमा समेत महालेखाले खर्च व्यवस्थापन र अभिलेख प्रणालीमाथि प्रश्न उठाएको छ। इन्धन खपतको अभिलेख व्यवस्थित नभएको तथा विभिन्न शीर्षकमा इन्धन खर्च गरिएको विषय प्रतिवेदनमा औंल्याइएको छ।

‎यस्ता विषयको वास्तविक अवस्था के हो? कसरी खर्च भयो? कसले निर्णय गर्‍यो? खर्चको औचित्य के थियो? बेरुजु किन देखियो? र बेरुजु फछ्र्योटका लागि अहिलेसम्म के कदम चालियो?—यी प्रश्नको जवाफ अब नयाँ प्रशासनिक नेतृत्वले खोज्नुपर्ने देखिन्छ।

‘हाकिम फेरिए, अब हिसाब पनि फेरिन्छ कि?’

‎नगरपालिकाको नेतृत्व फेरिएसँगै स्थानीय नागरिकमा अर्को प्रश्न पनि उठेको छ—हाकिम मात्रै फेरिने हो कि आर्थिक तथा प्रशासनिक कार्यशैली पनि फेरिने हो?

नयाँ प्रमुख प्रशासकीय अधिकृतका अगाडि विगतका निर्णय तथा आर्थिक कारोबारलाई कानुनी प्रक्रिया र कागजातका आधारमा परीक्षण गर्ने, महालेखाले औंल्याएका बेरुजुको अवस्था पहिचान गर्ने, बेरुजु फछ्र्योटलाई प्रभावकारी बनाउने र आगामी दिनमा आर्थिक अनुशासन कायम गर्ने चुनौती छ।

‎सार्वजनिक रकम खर्च गर्दा निर्णय प्रक्रिया पारदर्शी बनाउने, जिम्मेवारीअनुसार अधिकार प्रयोग गराउने र एउटै व्यक्तिलाई आवश्यकता तथा कानुनी आधारबिना फरक–फरक जिम्मेवारी दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने स्थानीयको माग छ।

‎साझेदारी दैनिकको निरन्तर खबरदारी

‎पचरौता नगरपालिकामा देखिएका भनिएका प्रशासनिक तथा आर्थिक बेथितिका विषयमा साझेदारी दैनिकले यसअघि पनि निरन्तर समाचार प्रकाशन गर्दै आएको छ। सार्वजनिक निकायमा हुने खर्च, निर्णय र प्रशासनिक गतिविधि नागरिकको सरोकारको विषय भएकाले समाचारमार्फत उठाइएका प्रश्नको सम्बन्धित निकायबाट तथ्यसहित जवाफ आउनुपर्ने साझेदारी दैनिकको धारणा रहँदै आएको छ।

‎अब नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रदर्शनी कुमारीले जिम्मेवारी सम्हालेपछि विगतका निर्णय र आर्थिक कारोबारको अवस्था कसरी हेर्छिन् भन्ने विषय महत्वपूर्ण बनेको छ।

‎बेरुजु फछ्र्योट हुन्छ कि थन्किन्छ? आर्थिक कारोबार पारदर्शी बन्छ कि पुरानै शैली दोहोरिन्छ? विवादित जिम्मेवारीहरू सच्याइन्छन् कि यथावत रहन्छन्?

‎यी प्रश्नको जवाफ अब पचरौता नगरपालिकाको नयाँ प्रशासनिक नेतृत्वको कामबाटै खोजिनेछ। हाकिम फेरिनु मात्र परिवर्तन होइन, आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहितामा देखिने परिणाम नै वास्तविक परिवर्तनको मापदण्ड बन्नेछ।

साझा गर्नुहोस्