निजगढको होटलमा युवती मृत, अनुसन्धानका लागि दुई जना पक्राउ

गढिमाइ खबर
39 पाठक संख्या

कलैया । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकस्थित एक होटलमा एक युवति मृत अवस्थामा फेला परेकी छन्। यहाँस्थित गुरुङ होटलमा निजगढ नगरपालिका–१२ बस्ने २५ वर्षीया सीता थिङ मृत अवस्थामा फेला परेकी हुन्।

शुक्रबार राति अन्दाजी १० बजे होटलको एक कोठाभित्र सीता थिङ घाइते अवस्थामा रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जनाए। इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुगी घाइते अवस्थाकी थिङलाई उपचारका लागि सामुदायिक अस्पताल प्रसूति गृह निजगढ ल्याइएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रनाउ पण्डितले बताए।

घटनाका बेला होटलको कोठाभित्र निजगढ नगरपालिका–९ बस्ने अन्दाजी १८ वर्षीया अनु सुनार पनि सँगै रहेको खुल्न आएको छ। छ। उनीहरूसँगै आएका जितपुरसिमरा उपमहानगरपालिका–१६ टाङ्गिया बस्ती बस्ने ३५ वर्षीय महेश माझी र ३६ वर्षीय सुनिल बोम्जन घटना लगत्तै फरार भएका थिए।

घटनापछि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवरको नेतृत्वमा तथा इलाका प्रहरी कार्यालय निजगढको संयुक्त टोली परिचालन भएको थियो। टोलिले प्राविधिक विश्लेषणसहित खोजतलास अभियान सञ्चालन गरिएको प्रवक्ता पण्डितले जानकारी दिए ।

सो क्रममा सुनिल बोम्जनलाई टाङ्गिया बस्ती नजिक जंगल क्षेत्रबाट राति १ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो। महेश माझीलाई निजगढ नगरपालिका–७ माझीटोलबाट राति ४ बजे पक्राउ गरिएको थियो। घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता पण्डितले जानकारी दिएका छन्।

साझा गर्नुहोस्