कलैया । बारामा यस वर्ष गहुँ उत्पादन उल्लेख्य रूपमा घटेको छ। मौसम प्रतिकूल बनेपछि किसानले अपेक्षाअनुसार उत्पादन लिन नसक्दा कुल उत्पादन ७१ हजार ९२ मेट्रिकटनमा झरेको हो।
कृषि ज्ञान केन्द्र बाराका अनुसार यस वर्ष करिब २० प्रतिशतले उत्पादन घटेको छ। अघिल्लो वर्षको तुलनामा १७ हजार ९८० मेट्रिकटन कम गहुँ उत्पादन भएको तथ्यांकले देखाउँछ।
चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा २९ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको थियो। तर अनुकूल मौसम नहुँदा प्रतिहेक्टर उत्पादन ३.१ मेट्रिकटनको सट्टा २.४८ मेट्रिकटनमै सीमित भएको केन्द्र प्रमुख राजनारायण साहले जानकारी दिनुभयो।
उत्पादन घटे पनि गहुँको गुणस्तर राम्रो रहेकाले बजार मूल्य भने स्थिर देखिएको छ। कलैयासहित आसपासका बजारमा गहुँ प्रतिक्विन्टल करिब चार हजार रुपैयाँमा बिक्री भइरहेको कृषि अर्थविज्ञ गणेश महराले बताउनुभयो।
गत वर्ष बारामा ९६ हजार ६२० मेट्रिकटन गहुँ उत्पादन भएको थियो, जसको कुल मूल्य करिब ४ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो। यस वर्ष उत्पादन घटेसँगै किसानको आम्दानीमा पनि असर पर्ने देखिएको छ।






