रौतहटमा बोक्सी आरोपमा महिलामाथि कुटपिट, एक पक्राउ

गढिमाइ खबर
6 पाठक संख्या

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोप लगाउँदै एकल महिलामाथि अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

कटहरिया नगरपालिका–९, डुमरिया टोल बस्ने करिब ५५ वर्षीया एकल महिलामाथि स्थानीय केही व्यक्तिहरूले बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गर्नुका साथै मलमुत्र खुवाएर अमानवीय तथा अपमानजनक व्यवहार गरेका हुन्।

पीडित महिलाले दिएको जाहेरीअनुसार स्थानीय गौरी साह कलवारलगायतका व्यक्तिहरूले “यो बोक्सी हो, मेरो नातेदारको बालकलाई बिरामी बनाइदिएको छ” भन्ने आरोप लगाउँदै गालीगलौज, लछारपछार र कुटपिट गरेका थिए।आरोपितहरूले महिलामाथि सामाजिक रूपमा अपमान हुने गरी अमानवीय व्यवहारसमेत गरेका थिए।

घटनापछि पीडितले २०८३ साल वैशाख २० गते इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गराएकी थिइन्। जाहेरी प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।
प्रहरीले घटनामा संलग्नमध्ये कटहरिया नगरपालिका–९ निवासी फुदेनी माझीका करिब ३० वर्षीय छोरा शंकर माझीलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका माझीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए। उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।

साझा गर्नुहोस्