बारा,२० बैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै “घर–घरमा नगर अस्पताल” कार्यक्रम सुरु गरेको छ । नगर प्रमुख राजन पौडेलको प्रत्यक्ष निर्देशनमा सञ्चालनमा ल्याइएको यस कार्यक्रमबाट विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दा, ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न कारणले अस्पतालसम्म पुग्न नसक्ने नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
कार्यक्रम अन्तर्गत नगर अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी तथा प्राविधिकसहितको टोली उपमहानगरपालिकाका विभिन्न वडा–वडामा पुगेर घरमै स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । बिरामी भएर पनि अस्पतालसम्म पुग्न नसकेका, आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षण नगराएका, वृद्धावस्थाका कारण घर बाहिर निस्कन असमर्थ तथा शारीरिक रूपमा कमजोर नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण गर्ने काम भइरहेको छ ।
नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक जाहिद हुसैनका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य नसर्ने रोगहरूको समयमै पहिचान गर्नु, उपचारको पहुँच बढाउनु तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु हो । विशेषगरी मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी समस्या, श्वासप्रश्वास रोग, मुटुसम्बन्धी समस्या लगायतका नसर्ने रोगहरूको प्रारम्भिक परीक्षण र रोकथाममा यो अभियान केन्द्रित रहेको उनले बताए ।
उनका अनुसार नगर अस्पतालको बारेमा पर्याप्त जानकारी नपाएर निजी अस्पताल तथा क्लिनिकमा महँगो शुल्क तिरेर उपचार गरिरहेका नागरिकलाई सरकारी स्वास्थ्य सेवासम्म सहज पहुँच दिलाउनु पनि कार्यक्रमको उद्देश्य हो । साथै राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा सहभागी नभएका नागरिकलाई बीमामा आबद्ध गराउने, नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी दिने तथा दीर्घरोगीहरूको अवस्थाको निगरानी गर्ने काम समेत यस अभियानमार्फत भइरहेको छ ।
हाल डाक्टरसहित दुई वटा छुट्टाछुट्टै स्वास्थ्य टोली गठन गरी फरक–फरक वडामा सेवा प्रदान भइरहेको छ । टोलीले घरमै पुगेर रक्तचाप जाँच, सुगर परीक्षण, आवश्यक ल्याब परीक्षणको सिफारिस, औषधि वितरण, स्वास्थ्य परामर्श तथा आवश्यक परे नगर अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाएको छ ।
नगर अस्पतालले विशेषगरी वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीहरूलाई नियमित रूपमा निगरानीमा राखेर प्रारम्भिक चरणमै रोग पहिचान गर्न सके जटिलता कम हुने विश्वास लिएको छ । यसले अस्पतालमा अनावश्यक भीड घटाउनुका साथै नागरिकको समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ ।
आफ्नै घरदैलोमै स्वास्थ्य सेवा, रोग परीक्षण र औषधि उपचार पाउँदा स्थानीयवासी निकै खुसी भएका छन् । स्थानीयहरूले यस्तो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै यसले गाउँ–गाउँमा स्वास्थ्य पहुँच विस्तार भएको बताएका छन् ।
उपमहानगरपालिकाले आगामी दिनमा यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै सबै वडामा नियमित रूपमा सञ्चालन गर्ने योजना बनाएको जनाएको छ । “स्वास्थ्य सेवा नागरिकको पहुँचभित्र हुनुपर्छ” भन्ने अवधारणासहित सुरु गरिएको यो अभियानलाई नगरबासीले सकारात्मक रूपमा स्वागत गरेका छन् । यो कार्यक्रमबाट दुई दिनमा वडा नं.९ का १ सय ५२ जना र वडा नं.१० का २७५ जना गरी ४ सय २७ जना प्रत्यक्ष लाभन्वित भएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले जनाएको छ ।






