आइतबार राति परेको हल्का वर्षाले बाराका चैते धान खेती गर्ने किसानहरूलाई ठूलो राहत पुगेको छ। सिँचाइको अभाव झेलिरहेका किसानहरू पानी परेसँगै हर्षित भएका छन्।
जीतपुरसिमरा–१७ का किसान अनुप खड्काका अनुसार बोर्डिङ (सिँचाइ)कै भरमा रोपिएको धानबालीका लागि वर्षा अत्यन्त उपयोगी भएको छ। उनले अहिलेको पानीले रोपाइँ भइसकेका खेतहरूमा सकारात्मक प्रभाव पर्ने बताए।
कृषि प्राविधिकहरूका अनुसार चैते धानको प्रारम्भिक चरणमा पर्याप्त पानी आवश्यक पर्ने भएकाले यो वर्षाले बालीको वृद्धि र उत्पादनमा सुधार ल्याउने अपेक्षा गरिएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाका कृषि शाखा प्रमुख अनिस प्याकुरेलले वर्षाले किसानलाई ठूलो सहयोग पुगेको उल्लेख गरे।
स्थानीय किसानहरूले सिँचाइका लागि मोटर र डिजेल पम्प प्रयोग गर्दा लागत बढ्ने समस्या रहेको बताउँदै वर्षा नहुँदा खेती प्रभावित हुने गरेको गुनासो गर्दै आएका थिए। तर हाल परेको पानीले खेतमा आवश्यक चिस्यान पुग्ने र बाली राम्रोसँग सप्रिने विश्वास गरिएको छ।
यस वर्षाले धान मात्र होइन, मकै र तरकारी बालीमा समेत सकारात्मक प्रभाव परेको किसानहरूको भनाइ छ ।









