बारा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीलाई लक्षित गर्दै कुष्ठरोगसम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम पथलैयामा सम्पन्न भएको छ।
द लेप्रोसी मिसन नेपालको आयोजनामा स्वास्थ्य तालिम केन्द्र पथलैयाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कुष्ठरोगको पहिचान, उपचार तथा रोकथामका उपायबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।
कार्यक्रममा प्रशिक्षण दिँदै द लेप्रोसी मिसन नेपालका प्रोजेक्ट म्यानेजर अमजद अली मिकरानीले कुष्ठरोग कुनै अभिशाप वा अन्धविश्वाससँग जोडिएको रोग नभई जीवाणुबाट सर्ने उपचारयोग्य रोग भएको बताए। उनले छालामा संवेदना कम हुनु, सेतो वा रातो दाग देखिनु तथा हातखुट्टा झमझम हुनु जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गरे।
उनका अनुसार रोग समयमै पहिचान भई नियमित औषधि सेवन गरेमा पूर्ण रूपमा निको हुन सक्ने भएकाले बिरामी लुकाउने वा उपचारमा ढिलाइ गर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको छ।
अभिमुखिकरणमा सहभागीहरूले समाजमा अझै पनि कुष्ठरोगप्रति रहेको डर, भ्रम र भेदभाव हटाउन तथ्यमा आधारित सूचना प्रवाह आवश्यक रहेको बताएका छन्। सञ्चारमाध्यमले जनचेतनामूलक सामग्री नियमित रूपमा प्रसारण गरे रोगको समयमै पहिचान र उपचारमा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
प्रस्तुत तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को माघ महिनासम्म बारा जिल्लामा ४४ जना नयाँ कुष्ठरोगी फेला परेका छन्। तीमध्ये १४ वर्षमुनिका ४ जना बालबालिका रहेका छन्। गत आर्थिक वर्षमा भने जिल्लाभर १३७ जना नयाँ बिरामी भेटिएका थिए।
त्यसैगरी चालु आर्थिक वर्षको माघसम्म जीतपुरसिमरा उपमहानगरपालिकामा मात्रै १३ जना नयाँ बिरामी देखिएको जानकारी दिइएको छ। अन्य पालिकाको तुलनामा यहाँ संख्या बढी देखिएकाले लक्षित कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
कार्यक्रममा आगामी चैत्र ४ गते कलैयामा निःशुल्क कुष्ठरोग परीक्षण तथा उपचार शिविर सञ्चालन गरिने जानकारी दिइएको छ। यस्ता शिविर प्रत्येक दुई महिनामा आयोजना गर्ने योजना रहेको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य कार्यालय बाराका प्रमुख चेतराज पण्डितले कुष्ठरोग निवारणका लागि द लेप्रोसी मिसन नेपालले जिल्लामा निरन्तर सहकार्य गर्दै आएको बताए। उनले स्वास्थ्य शिक्षा, जनचेतना तथा सक्रिय खोजपड्तालका कार्यक्रमका कारण रोगको पहिचान र उपचारमा सुधार आएको उल्लेख गरे।
उनले समयमै उपचार सुरु गरेका ४४ जना बिरामीका कारण जटिल अवस्था देखिन नपाएको जानकारी दिँदै रोगबारे सही जानकारी समाजसम्म पु¥याउन सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताए।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले दिगो विकास लक्ष्य २०३० अनुसार क्षयरोग र कुष्ठरोग निवारणका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवि कुमार भाष्कर, द लेप्रोसी मिसन नेपालकी प्रोजेक्ट म्यानेजर सीता बिष्ट, बारा जिल्ला फोकल पर्सन दिपेश यादवलगायत विभिन्न संघसंस्था तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।









