रौतहटको छुट्टाछुट्टै दुई ठाउँमा भीषण आगलागी,झन्डै २ करोड बराबरको धनमाल जलेर नष्ट

गढिमाइ खबर
165 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

रौतहट : गर्मीयाम शुरु भएसंगै तराईका जिल्लाहरुमा आगलागीका घटनाहरु हुन थालेका छन । शुक्रबार राति रौतहटको छुट्टाछुट्टै दुई ठाउँमा भएको भीषण आगलागी हुदा करोडौंको क्षति भएको छ।

जिल्लाको सदरमुकाम गौर र भारतीय सीमासँग जोडिएको बौधिमाई नगरपालिकाको कोपवा गाउँमा आगलागी भएको हो । यी दुवै ठाउ भएको आगलागीबाट झन्डै दुई करोड रुपैयाँ बरावरको धनमाल जलेर नष्ट भएको जनाईएको छ ।

गौरको कबिर चोक स्थित स्थानीय कृष्णनन्दन पेटलको घरमा राति ९ बजेको समयमा आगलागी भएको थियो। बास र खरले छाएको पटेलको कच्ची घरमा रातिको समयमा अचानक आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरमा राखिएको विभिन्न मालसामान जलेर खरानी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट घर सहित बिग्रेर मर्मतका लागि राखिएको ५ थान मोटरसाइकल,एक थान पानी तान्ने मोटर लगाएतका विभिन्न सामान तथा नगद गरगहना जलेर नष्ट हुँदा करिब २१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा डीएसपी दीपक कुमार रायले जानकारी दिए। आगलागी के कति कारण भएको भन्ने कुरा हालसम्म खुल्न नसकेको प्रवक्ता रायले बताए ।

यसैगरी शुक्रबार राति नै बौधिमाई नगरपालिका–५ कोपवाका धर्मेन्द्र जयवालको ३ तल्ले पक्की घरको अन्डर ग्राउन्डमा रहेको गोदाम घरमा आगलागी भएको छ।

राति साढे ८ बजेको समयमा पीडित जयसवालको गोदाममा अचानक विद्युत तार सर्ट भएर भीषण आगलागी हुँदा करोडौं मूल्य बराबरको रेडिमेड कपडा, मोटरसाइकल लगाएतका सामान जलेर नष्ट भएको पिडितले बताएका छन।

आगलागीबाट ३ तल्ले घर सहित गोदाममा रहेको १ करोड मूल्य बराबरको कपडा र चप्पल,एक थान मोटरसाइकल गरी कुल १ करोड ७६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी रायले जानकारी गराए ।

दुवै घरमा गरी १ करोड ९७ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। दुवै ठाउँको आगलागीलाई स्थानिय प्रहरी,गौर नगरपालिकाको दमकल,बौधीमाईको दमकल र गाउँलेहरु मिलेर तुरुन्त नियन्त्रणमा लिन सफल भएका थिए।

आगलागीलाई समयमै नियन्त्रणमा लिइएका कारण थप क्षती हुनबाट जोगिएको थियो। आगलागीबाट भौतिक क्षती भएपनि मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

अहिले सुख्खा मौसम अर्थात गर्मी याम सुरु भएकोले जतिखेर पनि आगलागीको घटना हुन सक्ने भएको हुँदा आगो बाल्दा आवस्यक सतर्कता अपनाउन रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेले सबैलाई आग्रह गरेका छन्।

साझा गर्नुहोस्