कलैया : सर्लाही प्रहरीले लाखौंको काजु् सहित एक मिनी ट्रकलाई आइतबार नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय कर्मैया,सर्लाहीको टोलीले सो ट्रकलाई नियन्त्रणमा लिएको हो।
सर्लाही बागमती न.पा.१२ स्थित चेकपोष्टमा इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायब निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले सो ट्रकलाई नियन्त्रणमा लिएको हो।विशेष सूचनाको आधारमा मदनपुरबाट काठमाण्डौ तर्फ जादै गरेको ग २ ख १४१८ नं. (परालको भुस) लोड भएको मिनि ट्रक गाडी रोकी प्रहरीले जाँच गरेको हो।
उक्त ट्रक गाडीमा परालको भुस भित्र लुकाई छिपाई लोड गरी ल्यादै गरेको २८ वटा प्लाष्टिकको बोरा भित्र ८२ वटा प्लाष्टिकको बाल्टिनमा १० के.जी.को दरले राखिएको अन्दाजी आठ सय २० किलो काजु प्रहरीले बरामद गरेको हो।
बरामद काजुको बजार मूल्य १२ लाख ३० हजार रुपैयाँ रहेको छ। ट्रकको मूल्य २५ लाख गरी ३७ लाख ३० हजार बराबरको रहेको प्रहरीले जनाएको छ।
प्रहरीले सर्लाही बरहथवा न.पा.१३ बसवरीया बस्ने अं.बर्ष ५६ को ट्रक चालक राजबंशी झा समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कर्मैया,सर्लाहीमा ल्याई राखिएको इप्रका कर्मैयाले जनाएको छ।









