कलैया : नेपालमा शिक्षकहरुको शिक्षा ऐनको विषयलाई लिएर आन्दोलन जारी रहेको छ।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलनलाई अझ सशक्त बनाउन शिक्षकहरु कडा संघर्षमा उत्रिएका हुन्। यही सन्दर्भमा कक्षा १२ को परीक्षामा सहभागि नहुन जिल्ला आन्दोलन परिचालन समिति बाराले शिक्षक तथा कर्मचारीहरुलाई आहवान् गरेको छ।
आन्दोलन परिचालन समितिले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आहवान गरेको हो। संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी,नेपाल राष्ट्रिय शिक्षक संगठन बाराका अध्यक्ष बद्रीनरायण झा,एकिकृत अखिल नेपाल शिक्षक सङगठ्न बाराका अध्यक्ष रोशन यादव,नेपाल विद्यालय कर्मचारी परिषद बाराका देवकुमार साह रहेका छन्।
विज्ञप्तिमा २०८१ चैत २० गतेबाट निरन्तर काठमाण्डौं केन्द्रीत सडक अन्दोलन भइरहेको लेखिएको छ। गुणस्तरीय विद्यालय शिक्षा,विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट सो आन्दोलन गरिएको हो।
यो अन्तिम र निर्णायक आन्दोलन रहेको विज्ञप्तिमा लेखिएको छ। आन्दोलनलाई अझ सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको हो। नेपाल शिक्षक महासङ्घले शनिबार प्रेस विज्ञप्ती मार्फत २०८२ वैशाख ११ गतेबाट सञ्चालन हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष,निरीक्षक लगायत कुनैपनि कार्यमा संलग्न नहुन सबै प्रधानाध्यापक शिक्षक कर्मचारीलाई अनुरोध गरेको संयुक्त विज्ञप्तिमा जानकारी दिइएको छ।
बारा जिल्लाका केहि प्रधानाध्यापकहरुलाई केन्द्राध्यक्ष अभिमुखीकरण कार्यक्रममा उपस्थित हुनकालागि जिल्ला प्रशासन कार्यलय कलैया,बारामा बोलाएको सूचना आएको जनाउदै यसमा जिल्ला अन्दोलन परिचालन समितिको गम्भीर ध्यानार्कषण भएको जानकारी विज्ञप्तिमा दिइएको छ।
जारी आन्दोलनलाई अझ सशक्त बनाउनका लागि कक्षा १२ को परीक्षा सञ्चालनार्थ कुनै पनि कार्यक्रममा सहभागी नहुन समितिले आग्रह गरेको हो। परीक्षा सञ्चालनमा सहभागी नहुनका लागि सम्पूर्ण प्रधानाध्यापक,शिक्षक तथा कर्मचारीहरुमा परिचालन समितिले अनुरोध गरेको छ।
नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको यो आन्दोलनलाई साथ दिन समेत भनिएको छ।संस्थागत विद्यालयहरु,सम्पूर्ण अभिभावक,विद्यार्थी,विद्यालय व्यस्थापन समिति,गाउँ तथा नगरपालिका एवम् सबै शैक्षिक सरोकार पक्षसँग विज्ञप्ति मार्फत अनुरोध समेत गरिएको छ।









