बारालाई विश्वमा चिनाउने प्रसिद्ध गढीमाई मन्दिर

गढिमाइ खबर
पढ्न लाग्न समय 4 मिनेट

श्यामबाबु यादव /
प्रदेश नं.२ अन्तर्गत आठ जिल्लामा मध्येको एक जिल्ला बारा हो । समुन्द्र सतहदेखि १५२ मिटर देखि ९१५ मिटरसम्मको उचाईमा अवस्थित यो जिल्लाको क्षेत्रफल ११९० वर्ग कि.मी. रहेको छ । १६ वटा स्थानिय तह माध्ये २ उपमहानगरपालिका,५ नगरपालिका र ९ गाउँपालिकामा बाडिएको यो जिल्लाको सिमाना पुर्वमा रौतहट, पश्चिममा पर्सा, उतरमा मकवानपुर र दक्षिणमा भारतको विहार राज्यसंग जोडिएको छ । यहाँको हावापानी शीतोष्ण तथा समशीतोष्ण प्रकारको छ । यहाँ औषत तापक्रम अधिकत्तम ३१.३ डिग्री सेन्टिग्रेड र न्युन्तम १८ डिग्री सेन्टिग्रेड हुन्छ भने औषत वर्षा १,७६० मि.मि. हुन्छ । झन्डै ८० प्रतिशत वर्षा मनसुनमा हुन्छ र मनसुन जुन देखि सेप्टेम्बर सम्म करिब १०२ दिनसम्म रहन्छ ।

जिल्लामा मधेशी र पहाडीमुलका विभिन्न जातजाति लगायत थारु तथा मुस्लिम समुदायको मिश्रित बसोवास रहेको छ । त्यसैगरी यहाँ भोजपुरी, नेपाली, थारु, मैथली र अवधी भाषा प्रयोगमा रहेको पाइन्छ । जिल्लामा मनाइने चाडपर्वहरुमा विशेषत दशैं, तिहार, छठ, तिज, ईद(मुस्लिम) जितिया (मधेशी), सिरुवा (थारु) सुख रात्री (थारु) पर्दछन । कृषि उत्पादनको दृष्टिकोले धान, मकै, गँहु, उँखु, आलु, प्याज, मसुरो, तोरी आदी यहाँको मुख्य बालि हुन । धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा जैविक विविधताले समेत यो जिल्ला अन्तन्यत धनि मानिएको छ । प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक पर्यटकीय स्थलहरु रहेका छन् ।

बारामा पर्यटकीय सम्भावना बोकेका स्थलहरु मध्ये गढीमाई मन्दिर एक मुख्य धार्मिक पर्यटकीय स्थल हो । यहाँ प्रत्येक पाँच वर्षको अन्तरालमा भव्य मेला लाग्ने गर्दछ । पशुबलिको दृष्टीकोणले यो विश्वकै सबैभन्दा ठुलो मेला हो । मेला लाग्ने वर्षको असार महिनामा मन्दीरको झाँक्रीले औपचारिक पूजा गरि मेलाको क्षेत्र निर्धारण गर्ने गर्दछ । त्यसपछि मङ्सीर शुक्ल षष्ठी देखि नवमीसम्म मेलाको विशेष पूजा गरिन्छ । सो अवसरमा पञ्चमीको दिन खप्पर पूजा गरिन्छ भने सप्तमी र अष्टमीको दिन गढीमाई क्षेत्रभित्रको ब्रम्हस्थानमा झाँक्रीले नरवलिको रुपमा पाँच थोपा रगत चढाएपछि त्यहा स्वतः एक विशेष दीप प्रज्ज्वलित हुन्छ ।

त्यसपछी जङ्गली सेतो मुसा, भाले कुखुरा, बोका, सुंगुर, राँगाको पञ्चवलि दिई बलि दिने कार्य विधिवत रुपमा शुरु गरिन्छ । मेलामा विभिन्न मनोआकांक्षा पुरा गर्न भाकल गरिएको हजारौ राँगाको बलि दिइन्छ भने बोका, कुखरा परेवा आदी लाखौंको संख्यामा बलि चढाइन्छ । एक देखि डेढ महिनासम्म चल्ने मेलाको समय बाहेक पनि यहाँ दैनिक करिब ५ हजारको संख्यामा तिर्थालुहरु पूजा गर्न आउने गर्छन ।

प्यागोडा शैलिमा निमार्ण गरिएको मन्दिर भित्ररहेको देवीको मूर्ति करिब १५० वर्ष पहिले उपेन्द्र विक्रम शाहले स्थापना गरेको इतिहास रहेको छ । मेला अवधिभर भारतको विभिन्न राज्य तथा नेपालको गरी लाखौंको संख्यमा धार्मिक पर्यटक एवम् भक्तजनहरु एकै ठाउँमा उपस्थित हुनु र पूजा अन्तरगर्त विशेष दीप आफै प्रज्जवलित हुनु तथा लाखांैको संख्यामा बलि दिइएको पशु रगतमा झिङ्गा नलाग्नु यस गढीमाई मेलाको थप विशेषता हो ।

सदरमुकाम कलैयाबाट ७ कि.मी. पूर्व महागढीमाई नगरपालिका स्थित बरियारपुरमा अवस्थित यस धार्मिक पर्यटकीय क्षेत्रमा पुग्न यातायातको सुविधा प्रसस्त मात्रामा पाइन्छ । राजधानिबाट कलैयासम्म दैनिक दिवा तथा रात्रि बस सेवा, टाटा सुमो सेवा सञ्चालना रहेका छन् । हवाई मार्गबाट सिमरा पुगि वीरगंज हुदै पनि यहाँ सजिलै पुग्न सकिन्छ । भारतको रक्सौल हुदै वीरगंजबाट पनि यहाँ पुग्न सकिन्छ ।
अघिल्लो पटकको पंचबर्षीय मेलामा १ करोड ५ लाख भन्दा बढी भक्तजनहरुले गढीमाईको दर्शन गरेको, २५ हजार राँगा र २० हजार भन्दा बढी बोकाको बली दिइएको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले अनुमान गरेको थियो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *