शारदा पोखरेल/
बाराका १६ वटै नगरपालिकामध्ये निजगढ नगरपालिका फरक देखिन थालेको छ ।
सुशासन र विकासमा आकर्षण थपिदैँ गएकोले जिल्लको अरु पालिका भन्दा निजगढ फरक देखिन थालेको हो । सेवाग्रहीकोको लागि निशुल्क फोटो कपीको व्यवस्था, डिजिटल सुचना बोर्ड, सेनेटरी प्याडसहितको महिला मैत्री शौचालय, ठाँउ ठाँउमा तातो पानी र चियाको प्रवन्ध, सबैतिर सरसफाई र चिटिक्क परेको सुन्दर सजावटले यहाँ झन् आकर्षण बढेको छ ।
व्यवस्थित नगरपालिका कार्यालयसँगै विकास र सुशासनमा यो पालिका जिल्लाकै नमुना पालिकाको रुपमा विकास हुदै गएको छ ।
नगरपालिकाले हरेक शाखा अगाडी सेवाग्राहीहरुका लागि बस्ने व्यवस्था, तौल र उचाई नाप्ने मेशिन, छिटो, छरितो सेवा प्रवाहका लागि अधिकाशं सिफारिसहरु निशुल्कं, नगर क्षेत्रभित्र खानेपानी, गर्भवती तथा सुत्केरी महिलाहरुका लागि एम्बुलेन्स सहित घरमै पुगेर निशुल्क स्वास्थ्य सेवा समेत प्रदान गर्दै आएकोले सेवाग्रहीहरु उत्साहित छन् । उनीहरु विकास र सुशासनको अनुभुति पाउन थालेको नगरका जनप्रतिनिधिहरु बताउँछन् ।
‘सेवाग्राही भित्र बस्दा दिक्क लाग्दैन्, चिया,पानीको राम्रो व्यवस्था छ, काम गर्ने क्षेत्रमा कर्मचारीको व्यवहार पनि राम्रो छ’ निजगढ ६ की शोभा राउतले भनिन् ‘स्वास्थ्य, शिक्षा,बाटो,घाटो सबै क्षेत्रलाई नगरपालिकाले समेटेको छ ।’
पालिका कार्यालयमा डस्टबिनलगायतको सुविधा प्रयाप्त देखिएको छ । यसबाहेक सेवाग्रहीहरु कुन कामका लागि के के कागजपत्र आवश्यक पर्दछ र कुन शाखामा जाने, कस्लाई सम्र्पक गर्ने लगायतका सुचनाहरु डिजिटल सुचनामा उपलब्ध छ ।
भित्तामा ‘सेवाग्राहीको अधिकार शिघ्र सेवा र शिष्ट व्यवहार’ भन्ने मुल नारा समेत टाँसिएको छ । यति हुँदासमेत नगरवासीहरुले थप विकासको आवश्यक्ता रहेको औल्याउँछन् ।
नगरपालिका वडा नं १० का आशलाल स्या¨त्या नगरपालिका भित्रवाट दिने सेवा सुविधा राम्रो भएपनि बिकास निमार्णको कामले सोचेजति गति लिन नसकेको बताउछन् ।
१३ ओटा वडा रहेको निजगढ नगरपालिकामा २०४७ अशोज २ गते भएको स्थानीय तहको निर्वाचनमा उपप्रमुख सहित ८ वटा वडामा नेकपा एमाले र नगरप्रमुख सहित ५ ओटा वडामा नेपाली कांग्रेसले नेतृत्व गरेको छ ।
करिव पौने अर्ब वार्षिक बजेट रहेको निजगढले वार्षिक १७ करोड आन्तरिक राजस्व संकलन गर्दछ । जसमध्ये १४ देखि १६ करोड नदिजन्य पदार्थ उत्खनन्को ठेक्का बापत संकलन हुने गर्दछ ।
जिल्लाको उत्तरी भेगमा चुरेसँग जोडिएको निजगढ राष्ट्रिय गौरवका आयोजनाहरु प्रस्तावित दोस्रो अन्तराष्ट्रिय बिमानस्थल र तराई—काठमाडौ दु्रतमार्गका कारण पनि राष्ट्रिय रुपमा चर्चामा आउने गर्दछ ।
निजगढ नगरपालिका वडा नं ६ का वडाध्यक्ष रामजी बझगाँईले नगरपालिकाले पुर्वाधार निमार्णको काममा ठुलो लगानी गरेपनि नगरवासीको जिविकोपार्जन र रोजगारी सिर्जनामा कम काम भएको टिप्पणी गरेका छन् ।
नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुमन कुमार कार्कीले सेवाग्राही मैत्रि व्यवस्थापन, त्रुटिरहित सेवा र कर्मचारीवाट सेवाग्राहीलाई शिष्ट व्यवहार होस् भन्ने कुरामा आफुले बिशेष जोड दिएको बताए ।
अधिकाशं पालिकामा जनप्रतिनिधि र कर्मचारी विचको द्धन्द्धले विकास निमार्ण र सेवा प्रवाहमा ढिला सुस्ती भईरहेको गुनासो आएपनि निजगढमा भने हरेक काम समन्वय र सहकार्यमा हुने गरेको बताउछन् । ‘हामीले कानुनले दिएको काम, कर्तव्य र अधिकारमा भित्र बसेर निष्पक्ष ढंगले काम गर्ने हो, जनप्रतिनिधिले पनि कानुन विपरित कामका लागि हामीलाई कुनै दवाव दिनु हुदैन्’ कार्कीले भने ।
नगरवासीलाई सुविधामा कन्जुसाई छैन् ः नगरप्रमुख
निजगढ नगरपालिकाका प्रमुख शुरेसकुमार खनालले नगरवासीलाई दिने सेवा सुविधामा बलबुताले भ्याएसम्म कुनै कमी नभएको बताए । शिक्षा स्वास्थ्य, खानेपानी, सिंचाई, कृषि, पशुपालन, न्याय सम्पादन, सुशासन सबैमा हामी अगाडी बढेको उनलृ बताए ।
प्रमुख खनालले स्वास्थ्य क्षेत्रलाई सुधार गरेर एउटा अस्पताल, ३ ओटा स्वास्थ्य चौकी र ८ ओटा वडाहरुमा शहरी स्वास्थ्य क्लिनिकहरु सञ्चालन भइरहेको बताए । कृषिमा सिंचाईको सहज उपलब्ध गराईएको र निकट भविष्यमै किसानहरुका लागि ‘स्मार्ट कार्ड’ उपलब्ध गराउने खनालले बताए ।
नगरक्षेत्रभित्र पशुहरुका लागि निशुल्क नश्ल सुधार कार्यक्रम, घाँसको बिउ बितरण, गोठ सुधार,पशु बिमा, केराखेती बिमा कार्यक्रम, न्याय सम्पादन, सुशासन र सडक पुर्वाधार निमार्णलाई प्रमुख प्राथमिकतामा राखेर काम भएको प्रमुख खनालले दावी गरेका छन् ।