वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

रौतहटमा ट्रकले किचेर एक जनाको मृत्यु,ट्रक चालकलाई स्थानीयले गरे रामधुलाई

करण कुमार मिश्र/

रौतहटमा ट्रकले किचेर शुक्रवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फतुवा विजयपुर नगरपालिका–१ घुसुकपुरका जयनारायण यादवका अन्दाजी ३० वर्षिय छोरा उमेश यादव रहेका छन् ।

शुक्रवार दिउँसो तिन बजेको समयमा फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तिया चोकमा ना ५ ख ३४५१ नम्बरको मालबाहक ट्रकले किच्दिा ना ५१ प ४९४१ नम्बरको पल्सर मोटरसाइकलमा सवार यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ ।

प्रहरीका अनुसार मौलापुरबाट बिजयपुरतर्फ जाँदै गरेको उक्त ट्रकले विपरीत दिशाबाट आउँदै गरेको यादव सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट यादव गम्भीर घाइते भएका थिए । ट्रकको ठक्करबाट यादवको टाउको क्षतविक्षत भएको छ भने मोटराइकल पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

बाराको निजगढ नगरपालिका–६ घर भएका ट्रक चालक मुकुन्द पोखरेलले गाडी ब्याक गरेर किच्दा मोटरसाइकल चालक यादवको ज्यान गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घाइते यादवलाई चालकले गाडी पछाडि गरेर किचेर मारेको भन्दै आक्रोसित स्थानीयबासीहरुले उक्त ट्रकका चालक पोखरेललाई समातेर रामधुलाई गरेका छन् ।

यादवलाई किचेर भाग्दै गरेको अवस्थामा स्थानीयहरुले समातेर चालकलाई कुटपिट गरेका थिए । स्थानीयहरुले गरेको कुटपिटबाट चालक घाइते भएका छन् । चालक पोखरेललाई इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट गएको टोलीले सुरक्षा दिन खोज्दा आक्रोसित स्थानीय र प्रहरीबीच केहीबेर झडप भएको थियो ।

जानीजानी मान्छे मार्ने चालकलाई प्रहरीले सुरक्षा दिएको भन्दै पीडितका आफन्त र स्थानीयहरुले इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाको कार्यालयमाथी ढुंगामुढा गर्दै कार्यालयको झ्यालको सिसाहरु फुटाइदिएका छन ।

प्रहरीले झडपलाई नियन्त्रणमा लिन ३ राउण्ड हवाई फायर गर्नुपरेको इलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजय कार्कीले बताएका छन् ।

घटनास्थल नजिकै रहेका इलाका प्रहरी कार्यालय सन्तपुरका प्रहरीले चालकलाई उद्दार गरी उपचारका लागि हस्पिटल पुरयाएका थिए । घाइते चालकको उपचार विरगंजमा भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीबीच भएको झड्पमा केही प्रहरी घाइते भएका छन् । स्थानीयहरुले ट्रकमा तोडफोड गरी क्षति पुरयाएको छ । उनीहरुले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै केहीबेर प्रदर्शन गर्दै नाराबाजी समेत गरेका थिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहतले जनाएको छ ।