कलैया । बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उप-निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको छ । कलैया स्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन भएको हो ।
बैशाख १० गते हुने उपनिर्वाचनको लागि बारा –२ मा २८७ जना मतदाता थपिएका छन् । यसअघि मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा यहाँ १ लाख ५ हजार ११ मतदाता रहेका थिए । जसमा पुरुष ५८ हजार ७४२ र महिला ४६ हजार २६२ थिए भने हाल १ लाख ५ हजार २९८ मतदाता रहेका छन् ।
मङ्सिर ४ गते भएको निर्वाचनलाई नै आधार मानेर निर्वाचन कार्यालय बाराले यस पटक पनि ८२ मतदान स्थल र १३७ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज कुमार चौधरीले जानकारी दिनु भयो ।उनका अनुसार वैशाख १० गते सम्पन्न निर्वाचन पछी मतगणना समन्वय समितिको कार्यालयमै हुने छ ।
जिल्ला न्यायाधीश मुकेश उपाध्याय लाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा ,जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी , सशस्त्र प्रहरी बाराका प्रमुख टोप बहादुर डाँगी ,रास्ट्रिय अनुसन्धान उप- निर्देशक बाराका प्रमुख अविनय कुमार सिंह, बाराका आर्मी सेनानी भुपेन्द्र गोदार ,दलका प्रतिनिधि र सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले गरेका थिए ।