काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ ।
निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन भएको तीन दिन अर्थात् मङ्सिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना बताउनुभयो ।
“सबै मतपेटिकाहरू सङ्कलन भएको लगत्तैदेखि मतगणना प्रारम्भ हुनेछ”, उहाँले भन्नुभयो, “तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ ।”
मङ्सिर २२ गतेभित्र निर्वाचनको सम्पूर्ण नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउन चाहेको जनाउँदै उहाँले भन्नुभयो, “निर्वाचन प्रक्रियामा सबैको प्रतिबद्धता र सहयोग भएको खण्डमा त्यो सम्भव हुन्छ भन्नेमा आयोग ढुक्क छ ।” अस्वाभाविकरूपले मतदान भएका केन्द्रलाई आयोगले विशेष सूचीमा राख्ने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन वटा सुरक्षा घेरा रहने व्यवस्था गरिएको बताउनुभयो ।