बाराको कलैयामा नेपाली कांग्रेसले प्रहरी विरुद्ध बिहीबार दोस्रो दिन पनि प्रदर्शन गरेको छ । कांग्रेस जिल्ला सचिव भैयाराम यादवलाई मंगलबार जिल्ला प्रहरी कार्यालय भित्रै कुटपिट गरी घाइते बनाउने प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरिक्षक रुपेश साहलाई निलम्बनको माग गर्दै कांग्रेस नेता, कार्यकर्ताले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
करिव एक महिना अघि सवारी दुर्घटनामा महागढीमाई नगरपालिका–७ बेनौली निवासी २० वर्षीय सुनिल यादवलाई पर्सा जिल्लाको पिकअप भ्यानले ठक्कर दिएर घाइते बनाएपछि उपचारको क्रममा अस्पताल भर्ना भएकोमा पीडकबाट उपचार खर्च दिलाउने विषयमा नेता भैयाराम यादव प्रहरी कार्यालय पुगेका थिए । छलफलकै क्रममा प्रहरीसित भनाभन परेपछि प्रहरी निरिक्षक रुपेशले यादवलाई निर्घात कुटपिट गरेको विरुद्ध विहीबार दोस्रो दिनपनि प्रदर्शन भएको हो ।
प्रदर्शनपछिको कोणसभामा सम्बोधन गर्दै नेपाली कांग्रेसका अर्का जिल्ला सचिव राजेश रौनियारले दोषीलाई निलम्बन नगरिए सम्म आन्दोलन थप कडा बनाइने चेतावनी दिए ।
घटनालाई लिएर बुधवार नेपाली काँग्रेसका उपसभापति मनोज भट्ट र नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला ईन्चार्ज दिनेश राईको नेतृत्वमा प्रहरीको ज्याजति विरुद्धमा प्रर्दशन गरी बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा मार्फत गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र मधेस प्रहरी कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरु प्रदर्शनमा उत्रेका हुन् । ‘निलम्बन नगरिएसम्म आन्दोलन नरोकिन्ने जिल्ला सचिव रौनियारले बताउदै भन्ने निलम्बन हाम्रो प्रमुख माग हो ।’ त्यसपछि छानबिन गरी दोषीलाई विभागीय वा अन्न्य कारबाही हुनुपर्ने उनले बताए ।
एउटा दुर्घटनाको विषयमा भईरहेको छलफलमा पिडितको आग्रहमा आफु प्रहरी कार्यालय गएको तर घटनाको विषयमा बुझ्न खोज्दा डिएस्पी पाण्डेले विभिन्न अपशव्द प्रयोग गर्दै कपालमा समातेर कन्ट्रोल रुममा ल्याएर पाण्डे र निरिक्षक साहले हातपात गर्दै बुटले समेत शरिरको विभिन्न भागमा हिर्काएको पिडित नेपाली काँग्रेसका जिल्ला सचिव समेत रहेका यादवले बताए । उनले नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साहलाई निलम्बन कडा कारवाही गर्न माग समेत गरेका छन ।
प्रहरीको कुटाइले उनको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । उनी वीरगन्ज–१४ बहुअरीस्थित स्पर्श मल्टीस्पेस्लिटी अस्पतालमा उपचाररत छन् ।
यता प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डेले भने आफु लगायत आफनो प्रहरीले कसैलाई पनि कुटपिट तथा दुब्र्यवहार नगरेको बताएका छन् ।