बलेवा । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा बागलुङको कुश्मीशेरा बजारबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा कोणसभा गरिरहेका नेकपा(मसाल)का १४ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचन बहिष्कारका लागि आयोजना भएको कोणसभामा प्रहरीचौकी कुश्मीशेराबाट पुगेको प्रहरी टोलीले मसालका पोलिटब्यूरो सदस्य कृष्णराज पौडेलसहितका नेता तथा कार्यकर्ता पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोलिटब्यूरो सदस्य कृष्णराज पौडेल, अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देवबहादुर लामिछाने, बागलुङका सचिव नारायण सापकोटा, प्रवक्ता रेशम गिरी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष दलबहादुर विक, अखिल भारत नेपाली एकता समाजका युवा नेता सूर्य थापा, कास्कीका प्रवक्ता विक्रम थापा, युवा वाम नेता सागर कुँवर, आकाश गौतम, विनोद विष्ट, रमाकान्त शर्मा र काठमाडौँका नेता यमप्रसाद शर्मालगायत रहनुभएको छ । उहाँहरूलाई प्रहरीचौकी कुश्मीशेरामा राखिएको छ ।कोणसभाका मुख्यवक्ता पोलिटब्यूरो सदस्य कृष्णराज पौडेलले सम्बोधन गरिरहेका बेला प्रहरीले सबैलाई पक्राउ गरेको थियो । मसालका नेता कार्यकर्ता र प्रहरीबीच केहीबेर घम्साघम्सी भएको प्रतक्षदर्शीले बताए । प्रहरीले उनीहरूसँगै माइक र पर्चालगायतका प्रचार सामग्री पनि जफत गरेको छ । रासस