पर्सा प्रहरीले नेपाली नक्कली नोटसहित वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले नक्कली नोटसहित रौतहटको परोहा नगरपालिका-३ बस्ने ३२ वर्षका बिटु द्विवेदीलाई पक्राउ गरेको हो ।
उनको साथबाट १ हजार दरका ६ वटा नेपाली नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिएका छन ।
नक्कली नोटको कारोबार भईरहेको सूचनाको अधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका-११ श्रीपुरटोलबाट द्विवेदीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका द्विवेदीका बिरुद्ध मुद्रा सम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।