राम मण्डल/
असारे बजेट सकाउन हतार हतारमा वीरगञ्ज महानगरपालिकामा निर्माण गरेको गुणस्तरहीन कल्भर्ट पुल बनाउने समितिलाई १४ लाख रकम भुक्तानी भएको छ ।
महानगरको वडा नम्बर ३० लालपर्सा टोलमा उपभोक्ता समतिले २५ लाखको लागतमा बनाएको गुणस्तरहीन कल्भर्ट पुल निमार्ण गर्ने समितिलाई १४ लाख रकम भुक्तानी गरिएको हो ।२५ लाखको बजेट भएपनि हतारमा असारको अन्तिम साता निर्माण गरिएको कल्भर्ट पुल बापत आफुहरुले १४ लाख रकम भुक्तानी पाएको कल्भर्ट पुल उपभोक्ता समितिका अध्यक्ष सन्तोष साहले बताए ।
असारको अन्तिम समयमा काम सकाउन नभ्याएको भएपनि १४ लाख रकम हात पार्न सफल भएको उनले बताए ।
गुणस्तरहीन कल्भर्ट पुल निर्माण गर्न २५ लाख बजेट भएपनि १४ लाख मात्रै भुक्तानी पाएकोले पलको पुरै काम गर्न नसकको उनको भनाई छ । ‘२५ लाख मध्ये १४ लाख मात्रै भुक्तानी पाएका छौ अनि कसरी पुरै पुल बनाई दिने,उनले भने,उपभोक्ता समितिले आफनो घरबाट पैसा हालेर पुल बनाईदिने ।’
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० लालपर्सा टोलमा मधेस प्रदेशकी प्रदेश साँसद भिमा यादवको सँसदिय बिकास कोषबाट २५ लाख बजेट कल्भर्ट पुल निर्माण गर्न असारको अन्तिम तिर दिइएको थियो ।
आर्थिक बर्षको अन्तिम तिर बजेट पाएपछि उपभोक्ता समितिले हतारमा काम सकाएर बजेट पचाउन गुणस्तरहीन कल्भर्ट पुल निर्माण गरेको छ ।
समितिले निर्माण गरेको पुलको माथिल्लो भागमा छडहरु नाङै छोडिएको छ भने करिब ६० प्रतिशत भागमा कल्भर्ट पुलको माथि छड मात्रै राखेर ढलान नै गरिएको छैन ।
गुणस्तरहीन पुल निर्माणको बारेमा प्रदेश साँसद भिमा यादवसंग बुझदा उनले गुणस्तर काम भए नभएको कुरा ईन्जिनियरले हेर्नु पर्ने बताईन । उनले आफुले टोलमा बाढी नपसोस भनेर नै बजेट दिएको र पुरै पुलनिर्माण नभएको थाहा पाएपछि फेरि पनि त्यही पुल सम्पन्न गर्नको लागि बजेट दिने बताईन ।
गुणस्तरहीन कल्भर्ट पुल निर्माण भएको भन्दै स्थानीयबासीहरू उक्त पुल हेरेर छक्क पर्दै आएका छन । उनीहरूले पुल निर्माणको क्रममा चरम रूपमा आर्थिक अनियमितता गरी भ्रष्टाचार गरिएको भन्दै सोमा संलग्न उपभोक्ता समतिका पदाधिकारी, इन्जिनियर लगायतलाई कारवाही गर्नुपर्ने मागसमेत गरेका छन ।